विराटनगर,१५ चैत ।
हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी चैते दशै मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई ‘चैते दशैं’ भनिन्छ ।
देशका विभिन्न शक्तिपीठहरुमा बुधबार बिहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने र बली दिइने गरिन्छ । यस्तै साझमा देवी मन्दिरहरुमा पूजा अर्चना हुने गर्दछ ।