विराटनगर,२ चैत । देशभरजस्तै यही चैत ५ गते विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । राजनीतिक इतिहासमा यो क्याम्पसको छुट्टै पहिचान स्थापित छ । तर, यसपालि विगतको जस्तो रौनक र वादविवाद छैन ।
महेन्द्र मोरङ क्याम्पस एकताका राजनीतिक नेता–कार्यकर्ता उत्पादनको केन्द्र मानिन्थ्यो । स्ववियुमा नेतृत्व गरेका धेरै नेता अहिले पनि केन्द्रीय राजनीतिमा छाएका छन् । कतिपय ‘रिटाडर्य’ भइसकेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति बनिन् । दुई कार्यकाल पूरा गरी भण्डारीले भर्खरै पदीय जिम्मेवारीबाट विश्राम लिएकी छिन् । उनी ०४० सालमा अनेरास्ववियुबाट यहाँको स्ववियु कोषाध्यक्ष बनेकी थिइन् ।
स्ववियुका पूर्वसभापति महेश रेग्मीका अनुसार ०३८ मा फडिन्द्र तिम्सिनाको हत्यापछि मोरङ क्याम्पसमा अनेरास्ववियु पाँचौँ र छैटौँ निर्वाचनमा होमिएका थिए । त्यस बेला भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । त्यही कार्यसमितिमा भण्डारी कोषाध्यक्ष बनेकी थिइन् ।
“पार्टी प्रतिबन्धित अवस्थामा थियो । विद्यार्थी आन्दोलनकै माध्यमबाट राजनीतिक गतिविधि गर्नुपर्ने कारण पनि स्ववियुको छुट्टै महत्त्व थियो,” रेग्मीले भने, “राजनीतिक प्रतिबन्ध थियो । शैक्षिक र सामाजिक आन्दोलनहरू प्रतिबन्धित थिए । विद्यार्थी आन्दोलन पनि त्यसमै जोडिएको थियो । बहुदल आएपछि दलहरूको भूमिका बढी देखिन गयो । शैक्षिक आन्दोलनको केही फितलो भएजस्तो भयो ।”
पेसागत संगठन बनेपछि विद्यार्थी आन्दोलन विद्यार्थीसँग मात्र जोडिएको उनी बताउँछन् । तर, विद्यार्थीले खेल्नुपर्ने भूमिका कमजोर नभएको उनको भनाइ छ ।
मोरङ क्याम्पसकै स्ववियु सभापति भएर राजनीतिमा होमिएका विजयकुमार गच्छदार देशको उपप्रधानमन्त्रीसम्म बने । पटक–पटकमन्त्री बने । उनले राजनीतिको केन्द्रमा छाइरहने नेताको परिचय समेत बनाएका छन् । पछिल्लो संसदीय निर्वाचनमा पराजित भएपछि गच्छदार राजनीतिक रूपमा निष्क्रियजस्तै बनेका छन् ।
मोरङ क्याम्पसमा नेतृत्वदायी भूमिकामा रहेका कतिपय नेता अहिले केन्द्रीय राजनीतिमा सक्रिय छन् । कतिपय प्रदेशसभा सदस्य छन् । केही नेता प्रतिनिधिसभा सदस्य छन् ।
यहाँ ०३६ सालमा पहिलोपटक ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति बनेका थिए । दुई/दुई वर्षमा निर्वाचन हुने पद्धति थियो । ०३८ सालको निर्वाचन विवादित बन्यो । तत्कालीन नेविसंघका नेता विजयकुमार गच्छदारको टिमले स्ववियु कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो । स्ववियुमा लामो समय तालाबन्दी गरियो ।
“त्यही भएर पनि २०४० सालको चुनाव महत्त्वपूर्ण थियो,” पूर्वसभापति रेग्मीले भने । यही क्याम्पसबाट स्ववियु सभापतिमा निर्वाचित नेविसंघका नेता गुरुराज घिमिरे पार्टी राजनीतिमा सक्रिय छन् । गएको प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर–४ ‘क’बाट उमेदवार बनेका उनी पराजित भए ।
तत्कालीन स्ववियु सभापतिमा निर्वाचित नेविसंघकै नेता भीम पराजुलीले विराटनगर महागनरपालिकाको मेयरका रूपमा एक कार्यकाल पूरा गरे । अहिले उनी प्रदेशसभा सदस्य छन् ।
“वास्तममा हामी स्ववियुकै उत्पादन हौँ भन्दा हुन्छ । किनभने, हाम्रो राजनीतिक यात्राको तह त्यहीँबाट निर्माण भएको हो,” पराजुलीले भने, “विद्यार्थी आन्दोलनबाट उठेका र स्ववियुमा काम गरेका धेरै नेताहरू अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ ।”
तत्कालीन स्ववियु सभापति ऋषिकेश पोखरेल दुईपटक संघीय सांसद बने । अहिले उनी एमाले मोरङ अध्यक्षको जिम्मेवारीमा छन् ।
अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेका विराटनगरका सागरकुमार थापा अहिले एमालेका महानगर कमिटी अध्यक्ष छन् । उनी स्थानीय तह निर्वाचनमा महानगरको मेयर पदका प्रतिस्पर्धी थिए । पराजित भए । थापा भन्छन्, “विद्यार्थी आन्दोलन र यही सेरोफेरोमा राजनीति गरेका साथीहरू केन्द्र र प्रदेशमा राजनीति गर्दै हुनुहुन्छ ।”
स्ववियु इतिहास
मोरङ क्याम्पसमा ०४१ सालमा रमेश भट्टराई स्ववियु सभापतिमा निर्वाचित भए । ०४३ सालमा भूराज राई सभापति बने । उनी जनता समाजवादी पार्टी -जसपा हुँदै फेरि नेकपा एमालेको राजनीतिमा फर्किएका छन् ।
०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मीले नेतृत्व गरे । ०४९ देखि ०५१ सालसम्म नेविसंघका यदु विष्ट, ०५१ देखि ०५३ सम्म नेविसंघकै गुरुराज घिमिरे, ०५३ सालमा अनेरास्ववियुका ऋषिकेश पोखरेल, ०५५ मा नेविसंघका उपेन्द्र गच्छदार, ०५७ र ०६० मा अनेरास्ववियुका सागरकुमार थापा, ०६२ मा भीम पराजुली र ०६५ सालमा जयराम सुन्दास सभापति बने ।
०६४ फागुन १० गते पोखरा क्याम्पसमा एमाले अखिल र क्रान्तिकारीबीच झडप भयो । देशभर त्यसको विरोध भयो । मोरङ क्याम्पमा पनि विवाद र झडप भयो । त्यस बेला क्रान्तिकारीका जयराम सुन्दास घाइते भए । ०६५ मा सुन्दास सभापति बने ।