काठमान्डौं,२६ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेवाट शुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो । १४ वर्षपछि हुन लागेको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ ।
निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । ६२ मध्ये ६० आंगिक क्याम्पसमा निर्वाचनमा सहभागी हुन पाउने विद्यार्थी संघ, संगठन र समूह दर्ता गर्दै स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएको केन्द्रीय निर्वाचन अनुगमन समितिले जनाएको छ ।भोलि (शनिबार) फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ भने निर्वाचन यही चैत ५ गते हुदैछ ।
यता देशभरका अन्य क्याम्पस झै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पनि निर्वाचनको सरगर्मी बढेको छ। निर्वाचनको तयारीमा जुटेका विद्यार्थीहरूका लागि सिंगो क्याम्पसको नेतृत्वमा कसलाई उभ्याउने भन्ने विषयमा बहस संगै आन्तरिक तयारीमा जुटिरहेका छन् ।
नेविसंघबाट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापति बन्न जसवन्त पौडल होमिएका छन् । त्यस्तै अनेरास्ववियुको तर्फबाट नविन पहाडी सभापतिको दौडमा आफुलाई अघि सारेका छन् । एकीकृत समाजवादीनिकट अनेरास्ववियूका जिल्ला सचिव निर्मल भण्डारी र अखिल क्रान्तिकारीका रोहित यादव सभापतिको दावी गर्दै चुनावी मैदानमा होमिएका छन् ।