विराटनगर,१८ फागुन ।
जनप्रतिनिधिहरुले जनताका गुनासा सुनिदिए भने मात्रैपनि आशाको किरण बल्छ । यही र यस्तै कुरालाई आत्म साथ गर्दै विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा क्रियाशिल देखिन्छिन् ।
बजारमा रहेका विभिन्न उपभोग्य वस्तुहरुको अनुगमन देखि बाटो,घाटो ,शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रहरुको अनुगमन र जनगुनासो सुन्ने कार्यमा उनि सक्रिय देखिन्छिन् । बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासोलाई संवोधन हुनेगरी अनुगमन भइरहेको उपमेयर कार्की बताउछिन् ।
सडक समस्याका विषयमा नगरवासीहरु संग बुझ्ने र बन्दै गरेका बाटो,घाटोका विषयमा समेत स्थानिय संगको परामर्शमा काम गरिरहेको भेटिन्छ । यस्तै महानगरभित्रका शैक्षिक संस्थाहरुले गरिरहेका कामहरुको समेत उनी अनुगमन गर्ने गर्दछिन् । न्यायिक समिति मार्फत धेरै पारिवारिक समस्याहरु हल गरिएको उनि बताउछिन् । सामाजिक सन्जालमा प्रचार गर्ने भन्दा काममा विशेष ध्यान दिने र सकेको राम्रो काम गर्ने उनको धारणा रहेको छ ।
उनले अपाङ्गता भएका विद्यार्थीका विषयमा समेत विशेष काम गर्ने बताएकी छन् । आदर्श मावि विराटनगरमा सन्चालिन अपाङ्गता भएकाहरु कसरी अध्ययन गर्दै छन् भन्ने विषयमा बुधबार अनुगमन गर्न पुगेकी उपमेयर कार्कीले सवलङ्ग सरह बाच्ने,खेल्ने र शिक्षा आर्जन गर्ने कुरामा अपाङ्गता भएका विद्यार्थीहरुलाई कुनैपनि कमी हुन नदिने बताइन् ।
मस्तिष्क पक्षघात देखी विभिन्न बौद्धिक अपाङ्गता भएका ९६ जना विद्यार्थीहरु आदर्श माविमा अध्ययन गर्दछन् । उनिहरुको संरक्षण गर्ने दायित्व राज्यको पनि भएको र यसका लागि सवैखाले सहयोग गर्न महानगरपालिका तयार रहेको बताइन् । अपाङ्गता भएकाहरुको हेरचाह र संरक्षण गर्ने कार्य पनि कठिन भएको हुदा यसका लागि पनि महानगरले सोचिरहेको बताइन् ।