काठमान्डौं,३१ साउन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले संचारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्नु । चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए ।
अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको जानकारी दिँदै बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउमा उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताए।