काठमान्डौं,२९ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । आज बुधवार काठमाडौंमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताए ।
उनले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । आफ्ना कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गर्ने भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत हुनुहुन्छ । यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो ।
प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनामार्फत मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरूपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप बलियो बनाउन योगदान पुर्याउनुभएको बताए । देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए । भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभतफेरी कार्यक्रमसमेत गरेको थियो ।