काठमाडौं , १३ असार ।
विगतका दिनहरुमा तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य सामाग्री प्रस्तुत भएको भन्दै सम्वन्धित सर्जकहरुलाई सचेत गराइएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ ।
अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै सर्जकहरुलाई सचेत गराइएको जानकारी गराएका छन् । सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सदभावमा खलल पुर्याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्दछा विज्ञप्तिमा भनिएको छ ।
संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी समेत प्रतिष्ठानले दिएको छ ।