मोरङ,१२ असार ।
मोरङको रतुवामाई नगरपालिकामा समयमा नगरसभा हुन सकेको छैन । नगरको विकासमा समेत चरम राजनीति देखिएको छ । बहुमत र अल्पमतको आधारमा जादा प्रमुख नागेश्वरप्रसाद सिंहले कार्यपालिकाको बैठकनै राख्न नसकेका हुन् । सिंह नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् । पालिकामा उपप्रमुखसहित ११ जना एमालेका सदस्य छन् भने माओवादी केन्द्रबाट ४ जना कार्यपालिका सदस्य छन् । पालिकाको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गरेका थिए । यता कार्यपाालिको निर्वाचनमा भने एमाले र माओवादी मिलेर कांग्रेस संग प्रतिस्पर्धा गरेका थिए ।
स्थानीय तहले असार १० गते नगरसभामार्फत् आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि रतुवामाईले राजनीतिक विवादका कारण बजेट ल्याउन नसकेको हो। १७ वटा स्थानीय तह भएको मोरङका बाँकी १६ वटा स्थानीय तहले भने नीति, कार्यक्रम र बजेट ल्याइसकेका छन्। तर रतुवामाई नगरपालिकामा भने विवादका कारण नगरसभा अन्योलमा परेको छ।
अहिलेसम्म ३ वटा कार्यपालिकाको बैठक बसेको भएपनि विषयगत समिति निर्माणमा सहमति जुट्न नसकेको बताइएको छ । नगर प्रमुख सिंहलाई बहुमतको दम्भनै समस्याको जड बन्दै गएको छ । विषयगत समिति बनाएर बजेट निर्माण गर्नुपने एमालेको माग छ । उपप्रमुख दमयन्तादेवि चुँडालले पालिका प्रमुख सिंहले समन्वय नगरेकै कारण बजेट नआएको जिकिर गरेकी छन् ।
प्रमुख सिंहको कार्यपालिकामा बहुमत छैन । एमाले र माओवादीको कार्यपालिकामा बहुमत भए संगै सिंहले सोचे अनुरुप काम गर्न सकिरहेका छैनन् । नगरवासीहरुले विकासका विषयमा राजनीति नगर्न सुझाएका छन् ।