भीखम चन्द सरल एक सामाजिक अभियन्ता तथा धार्मिक योद्धा हुनुहुन्छ । उहाँ सामाजिक तथा धार्मिक व्यक्तित्वकारुपमा आफुलाई चिनाउन चाहनु हुन्छ । मोरङको रंगेलीमा वि.स.२००५ सालमा जन्मिनु भएका सरल, नाम जस्तै व्यवहारत त्यतिनै सरल हुनुहुन्छ । पिता मदन चन्द अग्रवाल र माता रमिती देवी अग्रवालका जेष्ठ पुत्रकारुपमा जन्मिनु भएका उहाँ सानै देखी सामाजिक काम गर्दै अगाडि बढिरहनु भएको छ । उद्योगी, व्यवसायी बन्ने र पैसा धेरै कमाउने लक्ष्य उहाँले कहिल्यै राख्नु भएन । यस्तै सामाजिक व्यक्तित्व सरल संग कौशल निरौलाले गर्नु भएको संवाद :
सामाजिक क्षेत्र र धार्मिक क्षेत्रमै मात्र लागेको देखिनु हुन्छ ? खासमा कसरी चलिरहेको छ तपाइको जीवन ?
म मारवाडी समुदायको मानिस । खासमा हाम्रोमा सवैजना उद्योगी व्यवसायी बन्ने भन्ने नै हुन्छ । तपाइले सोध्न खोज्नु भएको पनि त्यही होला । खासमा म सानै देखि पृथक खालको थिए । म दिन दुःखीहरुको सेवामै रमाउथे । मलाई खासमा उद्योग,व्यवसाय वा धन दौलत तीर मननै गएन । विद्यार्थी जीवन देखिनै मेरो रुची सामाजिक अभियन्ता र सेवा गर्ने थियो । मैले रंगेलीको पव्लिक माध्यमिक विद्यालयबाट २०२१ सालमा एसएलसी पास भएर विद्यालय शिक्षा हासिल गरेको हु । म त्यही विद्यालयमा २०२४ सालमा सञ्चालक समितिको सहसचिव भए संगै मेरो सामाजिक यात्राको शुरुवात भएको मान्छु । रंगेली रहदाका बखतमा तत्कालिन जतीपनि संस्थाहरु छन् सायद म सहभागी नभएको सस्था विरलै थिए होलान । हाम्रो परिवार रंगेलीमै थियो । रंगेलीमा हाम्रो चामल र तेलको मिल रहेको थियो । हामीले विस्तारै ती सवै काम त्यहाँबाट छोड्यौ । अहिले पनि म सामाजिक क्षेत्रमै समर्पित रहेको छु ।
कति सालमा विराटनगर आउनु भयो ? त्यसवेला विराटनगर कस्तो थियो स्मरणहरु बताउनुस् न ।
वि.स. २०४० सालमा हामी विराटनगर आयौ । विराटनगर धेरैनै सुन्दर र शान्त थियो । घना वस्तिहरु थिएनन् । विराटनगरभरीका मानिसहरुमा आपसी चिनजान हुन्थ्यो । सद्भाव थियो,शान्ति थियो ,आपसी प्रेम र मिलाप थियो । समयको पनि कुरा होला । अहिले विराटनगर शहर भएको छ ,विकसित भएको छ । यद्यपी विराटनगर सभ्य शहर हो । यो शहरले देशलाई बोकेको छ । यसैले देशको नेतृत्व गरिरहेको जस्तो लाग्छ । हिजो र आजको तुलना गर्ने हो भने त धेरै फरक छनी ।
समाज सेवाले मात्रै दैनिकी र परिवार चल्छ त ?
नीजि स्वार्थ राखेर कहिले अगाडी बढ्न सकिन्न । समाजसेवा सहज विषय हैन । यद्यपी यसको प्रतिफल तत्कालै आउछ भन्ने पनि होइन । तर यो चेतनाको माथिल्लो स्तर हो । म यही सम्झेर सेवामा लागेको छु । मानिस हो ,सत्कर्मले मानिसलाई बचाउछ । यद्यपी मेरा २ भाइ छोरा रोसन र पंकज छन्। उनीहरुनै ब्यवसायमा लागेका छन् । मैले त्यता रुची दिइन निरन्तर सामाजिक र धार्मिक काममा लागिरहेको छु ।
हाल कुन कुन संस्थामा रहेर काम गरिरहनु भएको छ ?
हाल म मारवाडीहरुको छाता संस्था नेपाल राष्ट्रिय मारवाडी परिषद केन्द्रीय उपाध्यक्ष छु । मारवाडी राजनैतिक चेतना समितिको पनि सभापति छु । श्रीहरि सत्संघ नेपालको राष्ट्रिय अध्यक्ष छु । यस्तै धार्मिक मठ,मन्दिरका विभिन्न समितिमा रहेर काम गरिरहेको छु । यसैमा मलाई सन्तुष्टि मिलेको छ । यस्तै म अग्रवाल सभा,मारवाडी सेवा समिति,सत्यनारायण मन्दिरको अध्यक्ष भएर काम गरिसकेको छु । अतिथि सदनमा महासचिव भए । मोरङ व्यपार संघमा सचिव भएर मैले जिम्मेबारी सम्हाली सकेको छु ।
राजनीति पनि सामाजिक काम होनी, यसमा चाही लाग्न रहर लागेन ?
वि.स.२०३७ सालमा मैले राजनीति गर्न खोजेको थिए । तत्कालिन पञ्चायत कालमा जिल्ला पञ्चायत सदस्यमा म निर्वाचित भएको थिए। त्यस पछाडी म राजनीतिमा आइन । यद्यपी मारवाडी समुदायका नयाँ पुस्ताले राजनीति गरुन् भन्ने लाग्छ । अन्य समुदायवाट पनि नयाँ पुस्ता राजनीतिमा आउनु पर्छ ।
नेपाली समाजलाई तपाई कसरी बिश्लेषण गर्नु हुन्छ ?
नेपाली समाज सभ्य समाज हो । नेपालका धार्मिक र सामाजिक व्यक्तित्वहरुको चेतनाले मात्रै देश बाचेको छ । देश बचाउन यो समुदायको ठूलो योगदान रहेको छ । अहिले हाम्रो नेपाली समाज भाडिएको छ । अशान्त भएको छ । जे कुरामा पनि भाग खोज्ने र लडाइ,झगडामा लागि हाल्ने स्वभावको विकास भएको छ । नैतिक शिक्षा र चेतनाको अभाव छ । मानिसलाई क्षमा दिउ ,या अव गल्ती नगर भन्ने हाम्रो पुरातन सस्कार पनि हराएर गयो । यो अत्यन्तै खतरा र चिन्ताको विषय हो ।