Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला चुनावी मैदानमा छन् । बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि सं २०३० सालमा जन्मिएका कोइराला विराटनगरका स्थायी बासिन्दा हुन् । विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका थिए । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष भएका नागेश २०५६ सालमा सभापति भएका थिए । त्यस्तै २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्यधिक मतका साथ निर्वाचित भएका । उनी २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । उनै कोइराला संग गरिएको कुराकानीको सार ।

– विराटगर महानगरको मेयरमा उम्मेदवारी दिनुभएको छ । महानगर बनाउने खाका चाहिं तपाईसँग के छ ?
महानगरवासीको मन छुने खालका समस्याको समाधान गरी सन्तुष्ट बनाउने मेरो मूल मुद्दा रहन्छ । पुनर्निर्माणतर्फ हेर्दा दुई वटा कोरिडोर बनाउने योजना मेरो रहेको छ । जसको एकतर्फ केशलिया करिडोर र अर्कोतर्फ सिघिया करिडोर निर्माण गर्ने योजनामा छु । यी दुई वटा करिडोर निर्माण गर्न सकेमात्र पनि विराटनगरको सौन्दर्यले पक्कै पनि माइलेज पाउने छ । त्यसैगरी रानीदेखि दुहबीसम्मको नहरको बाटोलाई साइकल जोन बनाउने, त्यहाँ तटबन्ध गरी बोटिङको व्यवस्था गर्न सके पर्यटकीय हबको रुपमा विकास गर्न सकिने सम्भावना म देख्छु । विराटनगरलाई चिनाउने अर्को मुख्य कुराको फाकस इन्डष्ट्रिजको संरक्षण हो । विराटनगरको जुटमिल्सबाट मजदुर आन्दोलन सुरु भयो नेपालभरि । त्यो इतिहास छँदैछ । यही इतिहासलाई फर्काउने काम गर्नेछु । विराटनगर जुटको निर्यात गर्ने भनेर चिनाएको इतिहासलाई मेटिन पुग्ने अवस्थामा छ । जुट त छँदैछैन । एउटा जुट मिल पनि समस्याग्रस्त अवस्थामा चहिरहेको छ । त्यसलाई पनि प्रवर्द्धन गर्न सक्छौं । त्यसको ठूलो सम्भावना छ । यो बेल्टमा किसानहरुले पनि आयआर्जन गर्न सक्ने र उनीहरुले नै तोकेको मूल्यमा जुट मिलहरुले खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । त्यसैगरी हामीसँग एउटा चिनी फ्याक्ट्री पनि रहेकाले त्यहाँ पनि किसानले आफूले निर्धारण गरेको मूल्यमा उखु बेच्न सक्ने वातावरण बनाउन सकेको खण्डमा विराटनगरको लागि उपलब्धि हुनेछ । थुपै सम्भावना छन् । तिनलाई पहिला सम्बोधन गर्ने पाइलट प्लान मसँग छ । मैले अहिले केही उदाहरणमात्र यहाँ प्रस्तुत गरेँ । यहाँ धेरै सम्भावना छन् । यो सबैलाई समेटेर नयाँ समुन्नत र सुरक्षित विराटनगर बनाउने योजनासहित मेयर उम्मेदवार भएको छु । शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिएर काम गर्ने योजना छ । विराटनगरलाई मेडिकल हब बनाउने र विराटनगरवासीले चाहेको महानगर बनाउने मेरो अठोट रहेको छ ।

– यति धेरै महत्वाकांक्षी योजनाहरु अघि सारिरहँदा स्रोत व्यवस्थापनमा चुनौती हुन्न र ?
मेरो मुख्य एजेन्डा करको दायरा बढाएर दर घटाउने हो । विराटनगरवासीको गुनासो जहिल्यै पनि कर बढी भयो भन्ने भएकाले करको दायरा बढाएर अहिले लिइरहेको कर घटाउने पहिलो एजेन्डा हुनेछ । करको दायरा बढाउने, करको दायरामात्र बढाएर भएन, के के फ्लो गर्ने ? यदि करको दायरा बढाइरहँदा, मेनिप्युलेशन छ भने क, ख, ग र घ श्रेणीका जमिनहरु हुन्छन् । त्यस्ता खालका वर्गीकरण गरिएको उपभोक्ताले कर तिर्न आउँदा कर छली गर्ने गरेका छन् । यसलाई कर छली गर्न नसक्ने गरी डिजिटलाइट गरी, जे चिज एन्ट्री भयो, त्यसको पारदर्शी हुने रुपमा त्यसलाई व्यवस्थापन गरी कडाइका साथ करको रुल फ्लो गरेको खण्डमा र नगरपालिका भित्र हुने सबैखाले कमिकमजोरीमा कडाइ गरिएको खण्डमा महानगरको आयस्रोतमा निकै ठूलो वृद्धि गर्न सकिन्छ । यसलाई नै हामीले विकास निर्माणमा सही सदपुयोग गर्न सक्छौं । यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

– विराटनगर विशेषतः औद्योगिक हबको रुपमा चिनिन्छ । तर, पछिल्ला समय उद्योगहरु थपिने भन्दा पनि बन्द हुने क्रम बढेको छ । विराटनगरको औद्योगिक हबको साखलाई जोगाउनेबारे तपाईसँग के छ प्लान ?
विराटनगर पुरानो सिटी हो । पहिले विराटनगर औद्योगिक सहर भनेर चिनिने सिटी हो । त्यसको साख गिरेको छ । अब फेरि उद्योगहरुलाई पुनःस्थापित गर्ने मेरो कर्तव्य रहनेछ । त्यसलाई बढाउँदा फेरि विराटनगरको गुमेको साखलाई पुनः जिवित गर्ने काम हुनेछ । जसले मेटिन लागेको औद्योगिक सहरको परिचयमा पुनर्ताजगी आउने छ । सँगसँगै हामीले बिर्सन नहुने कुरा भनेको विराटनगरसँग दुई ठूला इतिहास जोडिएको छ । एउटा, सात जना प्रधानमन्त्री जन्माएको छ विराटनगरले । अर्को, धार्मिक तथा ऐतिहासिक विराट राजाको दरबार रहेको छ । यो विराटनगरको इतिहाससँग जोडिएको छ । तसर्थ यी दुवै इतिहाससँग जोडिएका चिजलाई हामीले प्रवर्द्धन गर्न सकेको खण्डमा मात्र पनि विराटनगरको छुटै परिचय बन्न सक्छ । यसभन्दा अगाडी पनि कांग्रेसलेनै महानगरको नेतृत्व लिएको हो । कामहरु राम्रा भएका छन् । कतिपय हुने प्रक्रियामा रहेका छन् । तीनलाई समेत समेटेर म काम गर्छु । सर्वप्रथम सातवटा प्रधानमन्त्री जन्मिएकोले उनीहरुको नाममा संग्रहालय बनाउने योजना छ । त्यसैगरी राजा विराटको दरवारलाई व्यवस्थित गर्दै त्यसलाई पुनःस्थापित गर्नुपर्ने दायित्व छ । यी दुई कुरा गर्न सकेको खण्डमा विराटनगरलाई मुलुकभित्र मात्र नभएर विश्वभर चिनाउन सक्नेछौं । यो कुराका लागि म समन्वयात्मक तरिकाले काम गर्ने पक्षमा छु ।

– विराटनगर महानगरमात्र नभएर प्रदेशको राजधानी पनि हो । यसलाई राजधानीको स्वरुपमा लैजान संरचनागत रुपमा गर्नपर्ने के कस्ता योजना छन् ?
पहिला त नगरभित्र भएका सरकारी जग्गाको पहिचान गर्ने र त्यो जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने । त्यसमा प्रदेशसँगको सहकार्यमा आवश्यक भौतिक संरचना बनाउनेलगायतका काम गर्न सकिन्छ । समय र आवश्यकताअनुसार तथा विराटनगरले मागेअनुसार हामी काम गर्ने अठोट गर्छौं । त्यसका लागि महानगरको बजेटबाट मात्र असम्भव छ । प्रदेश र केन्द्र सरकारको सहायता लिएर काम गर्नेछौं ।

– महानगरवासीले तपाईलाई मत किन दिने ?
म मेयरको उम्मेदवार भइरहँदा विशेष पाँच वटा कुरा छन् । एउटा, करको दायरा बढाउने र कर दर घटाउने हो । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ मूल एजेण्डा हो मेरो । बाढी डुबानको समस्या छ, त्यसको व्यवस्थापन गर्ने हो । १० हजार बढी सुकुम्बासी रहेका छन्, उनीहरुलाई एकीकृत बस्ती विकास गरी व्यवस्थापन गर्ने योजना छ । विराटनगरको क्षेत्रफल ७७ वर्ग किलोमिटर छ । कतैतिर विकास धेरै, कतै कम भएको पनि छ । त्यसलाई समान ढंगले विकाको पहुँचमा पुर्‍याउने काम हुनेछ । बिजुली महसुल सहुलियत दिनेलगायतका कारणले मलाई नगरवासीले भोट दिनु हुनेछ भन्ने लाग्छ । समुन्नत विराटनगर,समृद्ध विराटनगर बनाउने मेरो उदेश्य छ । जनचाहना अनुरुपका विकास गर्ने मेरो पहिलो प्राथमिकता भित्रको कुरा हो ।

– गठबन्धनको अवस्था कस्तो छ ?
सन्तोषजनक छ । यसमा जिल्ला तहमा गठबन्धनभित्रका दलहरु सबै संवेदनशील छौं । जिल्ला तहमा पनि हामी संगै कार्यक्रम गरेर अगाडी बढिरहेका छौ । गठबन्धनमा कुनै आच आउने काम कसैवाट हुन्छ भन्ने मलाई लागेको छैन । सहमती ,सहकार्य गरेरै अगाडी बढिरहेका छौ ।
(नेपाल प्रेस डट कमको सहयोगमा)

सम्बन्धित

ताजा अपडेट
पार्टी सभापति शेरबहादुर देउवालाई कोइराला पक्षका साना नेताहरुको सत्तोसराप, कोइराला र रिजालले कुरा चपाएर भाषण गरे
विराटनगरमा उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनमा अन्तरक्रिया
केन्द्रको निर्देशन विपरीत कोशीमा शेखर कोइरालाको एकपक्षीय पालिका सभापतिको भेला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल